एमाले निर्वाचनको रणनीति बनाउन व्यस्त, आजदेखि तीन तहका बैठक

बैठकले संघीय तथा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीका घोषणापत्र, चुनावी रणनीति तथा अन्य तयारीलगायतका बिषयमा छलफल गर्नेछ

एमाले निर्वाचनको रणनीति बनाउन व्यस्त, आजदेखि तीन तहका बैठक

काठमाडौं । सत्तारुढ दलहरु सीट बाँडफाँडमा लागेको बेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको निर्वाचनको तयारी तथा रणनीति बनाउन तीन तहको बैठकको तयारीमा लागेको छ । 

आजबाट एमालेको तीन तहको बैठकमध्ये स्थायी कमिटीको बैठक शुरु हुनेछ । आज स्थायी कमिटी बैठक बोलाएको एमालेले भदौ ९ गते पोलिटब्युरो र १० तथा ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । 

आज बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकले चुनावको तयारीका बारेमा छलफल गर्नेछ । बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।  सो बैठकले संघीय तथा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीका घोषणापत्र, चुनावी रणनीति तथा अन्य तयारीलगायतका बिषयमा छलफल गर्नेछ । 

यसअघि एमाले सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीकै संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । साथै वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको संयोजकत्वमा उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको घोषणापत्र मस्यौदा समिति पनि बनाइसकेको छ । 

यी दुवै समितिलाई आजको स्थायी कमिटी बैठकबाट अनुमोदन गर्ने भएको छ ।

खबरपाटी
खबरपाटी