लामटाङ्ग पदयात्रा, यहाँ थाक्न पाइयो तर भाग्न पाइएन

समुद्र सतहबाट १४६० मिटरको उचाइमा रहेको स्यार्फूबेशीबाट ठुला ठुला डाडाँहरु हेर्दै हामी हिँड्ने तयारीमा जुट्यौँ । हिजो राती सादा खाना खाएर सुतेको.....

लामटाङ्ग पदयात्रा, यहाँ थाक्न पाइयो तर भाग्न पाइएन

स्वर्ग खोज्न अन्त जानुपर्दैन, नेपाल नै स्वर्ग हो भन्छु म । फुर्सद निकालेर नेपाल भित्र रहेका कुना कन्दरा,नेपाली कला संस्कृति ,रहनसहनको अवलोकनको लागि म सधैँ तयार रहन्छु भनी प्रण गरेको छु । जीवनको आफ्नै परिभाषा व्यक्ती अनुसार फरक हुन्छ, मेरो परिभाषा एक शब्दमा छ त्यो हो यात्रा ।

नेपालमा पर्यटनको सम्भावना व्यापक रहेको कुरा सर्वविदित नै छ । विश्व बजारमा नेपालको हिमाल, पहाड, तराई देखि नदी नालाहरूको चर्चा पनि उस्तै हुने गरेको छ । तर, पनि चर्चाअनुसारको पर्यटन गतिविधि नेपालमा किन देख्न पाइँदैन त ? किन ? यसको मुख्य कारण हो नेपाली व्यापारीहरूको पर्यटकतर्फको व्यापक लोभ । 

मलाई नेपालमा पदयात्रा गर्न अत्यन्तै मन पर्छ र यस पटकको वसन्त ऋतुमा मसँगै मेरो १२ जनाको जम्बो टोली लाङटाङ भ्याली तर्फ अफिसको छुट्टी मिलाएर पदयात्रातर्फ अगाडि बढ्यौ । 

पहिलो दिन काठमाडौँबाट स्यार्फूबेशी गएर त्यहाँबाट करिब ३ घण्टा हिँडेर बाम्बु भन्ने ठाउँसम्म पुग्ने योजना बनाएका थियौँ तर नेपालीहरूको नेपाली समयअनुसार चल्ने चलनले हाम्रो कुनै योजना सफल हुन सकेन । 

काठमाडौँको स्वयम्भूबाट बिहानको १० बजे हिँड्ने भनिएता पनि ६ वटा मोटरसाइकल र १२ जना जमघट हुँदा हुँदै दिउसोको १ बज्यो । र त्यत्तिखेर थप ढिलाइ नगरी हामी हाम्रो गन्तव्यतर्फ अगाडि बढ्यौ । 

काठमाडौँबाट हाम्रो गन्तव्य स्यार्फुबेशी १२० किलोमिटरको दुरीमा छ । बाइकमा लाग्ने समय ४ देखि ५ घण्टा, बाटो पनि अत्यन्तै राम्रो ९० प्रतिशत बाटो पुरै कालोपत्रे गरिएको छ । रसुवा जिल्लाको सदरमुकाम धुन्चे पुग्नु अगाडिको १० किलोमिटर बाटो अलिक खराब रहेको छ भने बाँकी सबै रोड कालो पिच रहेको छ । 

पहिलो दिन ५ घण्टाको राई डिङ र ३ घण्टाको पदयात्राको आरम्भ गर्ने भनिएता पनि ढिलो हिडाईका कारण हामी हाम्रो पहिलो दिनमा १२० किलोमिटरको बाइक यात्रामा मात्र सीमित भयौँ । काठमाडौँबाट करिब २ बजे हिँडेर करिब साढे ६ बजेको आसपासमा हामी स्यार्फूबेशी पुगेका थियौँ । खराब मौसमका कारण हामी बाटोमा निकै अलमलियौँ । तुवाँलो, हुस्सु र कुहिरोका कारण द्दश्यत्ता अत्यन्तै कम थियो । बाटो केही देखिएको थिएन । त्यै पनि हामी हाम्रो ६ वटा मोटरसाइकल सही सलामत गन्तव्यसम्म पुर्‍याउन सफल भयौँ । 

दोस्रा दिनको पहिलो बिहानी स्यार्फूबेशीमा हामी सबेरै उठ्यौँ । समुद्र सतहबाट १४६० मिटरको उचाइमा रहेको स्यार्फूबेशीबाट ठुला ठुला डाडाँहरु हेर्दै हामी हिँड्ने तयारीमा जुट्यौँ । हिजो राती सादा खाना खाएर सुतेको चार्ज ८०० रुपैयाँ प्रति व्यक्ति तिरेर बाइकलाई सुरक्षित पार्किङ गराएर हामीले हाम्रो पदयात्रा दोस्रो दिनको ८ बजेबाट सुरु गर्‍यौँ । 

१२ जनाको टोली चिलिमे हाइड्रोपावरको केन्द्रीय कार्यालयमा ६ वटा मोटरसाइकल पार्क गरेर हामीले हिँड्न सुरु गरेका थियौँ । हामीले हिँडाई सुरु गर्ने बाटोमा लाङटाङ हाइड्रो पावरको निमार्ण कार्य सुरु भइरहेको रहेछ । करिब ३ किलोमिटर मोटर बल बाटो निकालिएको रहेछ । त्यही बाटोमा हाइड्रोको गाडीको अपेक्षा गर्दै हिँड्दै गर्दा हामीले सानो जिप भेट्यौँ सबै जना उक्त गाडीमा सबार हुन नसके पनि सबैको भारी बोकेर हामी ४ जनाले उक्त जिपमा ३ किलोमिटर सजिलै पार गर्‍यौँ । गाडीको यात्रा सकेर हामी हाम्रा अरू साथीहरूलाई लाङटाङ खोलाको किनारमा फोटो खिच्दै रमाउँदै कुरेर बस्यौँ । 

करिब ४५ मिनेटपछि हामी सबै १२ जना दोमेन भन्ने स्थानमा भेट भयौँ । लाङटाङ पदयात्राको पहिलो गन्तव्य दोमेन भन्ने स्थान अत्यन्तै महँगो थियो । एक कोकोनट बिस्कुटको एक सय रुपैयाँ रहेको थियो भने दूधको चियालाई १२० र कालो चियाको ७० रुपैयाँ हामीलाई पर्न गयो । ब्यंग्यात्तमक कुरो त के भन्दा उक्त स्थानसम्म गाडी जाने सहज बाटो बनिसकेको छ । लाङटाङ जलविद्युतले दोमेनसम्म ठुलो मोटर बल बाटो बनाइसकेको छ भने अबको पदयात्रा पनि दोमेन भन्ने स्थानबाट नै सुरु हुन्छ तर पैसा भने माथिको क्यान्जिङ गोम्पा भन्दा त्यहाँ महँगो थियो । ११ वटा चिया र ५ वटा बिस्कुट खाएर १६७० को बिल तिरेर हामी १२ जना हाम्रो यात्रातर्फ अगाडि बढ्यौँ । 


थोरै खाजा खाएर होला भोकले चाडै सतायो । ३ घण्टा पनि नपुग्दै भोकले हामीलाई लखतरान बनायो । अर्कै स्थानमा खाना खानि भनिएता पनि दोमेनबाट ३ घण्टा हिँडे पछि बाम्बु भन्ने स्थानमा पुगियो, तर उक्त स्थानमा पुग्नु अगावै एक जना दिदीले बाटो देखिनै हामीलाई उनको होटेलमा खाना खान भनेर मार्केटिङ गर्न लागिन, उक्त स्थानमा समितिको फिक्स प्राइस रहेको भन्दै कसैलाई नभन्ने सर्तमा हाम्रो टोलीलाई ५० रुपैयाँ डिस्काउन्ट दिन्छु भन्दै भोकको झोकमा आफ्नो होटेलमा लगेर ५०० रुपैयाँ प्रति व्यक्तिका दरले खाना खान बाध्य बनाइन । 

त्यहाँबाट खाना खाएर हामी फेरी यात्रामा अगाडी बढ्यौँ । सुन्दर दृश्य, चिसो हावा खाँदै प्रकृतिसँग रम्दै हामी पुन १९८०मिटरमा रहेको बाम्बुबाट लामा होटेलतर्फ उक्लियौँ । करिब ३ बजे हामी लामा होटेल पुग्यौँ । एक होटेलमा भारी बिसाएर हाम्रा साथीहरू पछाडि आउने टोलीहरूलाई त्यस स्थानमा कुरी रहेका थिए । चियाको चुस्कीसँग सातु खाँदै उनीहरू हामीलाई कुरी रहेका थिए । उक्त होटेलको दिदीले उहाँले भनेको होटेलमा बस्न हामीलाई कुरा गर्दै थिइन । एक जना साथी आएर हाम्रो होटेल फिक्स भइसकेको भन्ने बित्तिकै हाम्रो ५० रुपैयाँ भनिएको कालो चिया सिधै १५० रुपैयाँ हुन पुग्यो र एक एक कप चिया खाएर त्यस होटेलबाट हामी घोडा तबेला भन्ने ठाउँ तिर अगाडि बढ्यौँ । योजना त त्यस दिन लाङटाङ पुग्ने रहेको थियो । तर हामी रातिको ८ बजे घोडा तबेला भन्ने स्थानसम्म मात्र पुग्न सक्यौँ । जङ्गलको बाटो राति अध्यारोपमा मोबाइलको टर्च बाल्दै अलि अलि डराउँदै हामी पुग्यौँ, घोडा तबेला । जुन २९५० मिटरको उचाइमा अवस्थित रहेको छ । 

दोस्रो दिनको रात १४ घण्टाको हिडाईसकेर हामी घोडा तबेलामा बाँस बस्न पुग्यौ । पहिल्यै फोन गरेर होटेल बुक गरेको हामीले त्यहाँ रातीको खाना, सुत्ने व्यवस्था र बिहानको नस्ता गरेर प्रति व्यक्ति १२०० रुपैयाँ लिइएको थियो । जुन यो पुरै ट्रेकिङभरिमा हामीलाई सबैभन्दा महँगो हुन गयो । राम्रो बार्गेनिङको सिस्टम रहेको त्यस ठाउँमा मान्छेको अनुहार हेरेर रेट तोक्ने चलन रहेछ । 

नेपालीहरूले नेपालीहरूलाई ठग्न छोड्दैनन् भने पर्यटकहरूको हालत के होला ? नेपालमा पर्यटनको सम्भावना धेरै रहे पनि पर्यटन व्यापार फस्टाउन नसक्नुको मुख्य कारण पर्यटकहरूलाई आफूले दिएको सेवा भन्दा धेरै पैसा लिनु पनि एक मुख्य कारण हो । एक पटक आएको व्यक्ति दोस्रो पटक त्यस स्थानमा आउँदैन भनिए जसरी त्यस ठाउँमा व्यवहार गरिएको महसुस हामी धेरैलाई भएको थियो । प्रत्यक्ष कारक नभए पनि अप्रत्यक्ष कारकहरू त्यस कुरालाई पुष्टि गर्न पर्याप्त रहेका छन् । 

केराउको झोल तरकारी र रोटी खाएर हामी बिहान ८ बजे हाम्रो यात्रा पुन सुरु ग¥यौ र यस दिन हामी पुग्यौँ हाम्रो अन्तिम गन्तव्य क्यान्जिङ गोम्पा । पहिलो दिनको हिडाईको थकानले होला दोस्रो दिनको हिडाईमा झन् कठिनाइ भइरहेको थियो । सबै थकित साथीहरू अल्याङटल्याङ गर्दै हिँड्न बाध्य देखिन् थिए । 

घोडा तबेलाबाट हिँड्न सुरु गरेपछि आफू बेग्लै संसारमा रहेको अनुभूति मलाई हुन थाल्यो, एक्लै हिँड्दै गर्दै ठुला ठुला हिमालहरूको बिचमा हिँड्न पाइराख्दा म कुनै नौलो संसारमा हिँडिरहेको आभास भइरहेको थियो । समुन्द्र सतहबाट ३००० मिटरको उचाइ हिँडिसकेपछि त्यहाँका बोट बिरुवा, खोला नाला, जङ्गली जनावरहरू नै बेग्लै देखिन थाले । 

त्यस स्थानबाट खेल्दै रमाउँदै, हाँस्दै साथीहरूसँग हामी छुट्टै संसारमा हराउन थाल्यौ । काठमाडौँको सबै तनाव र समस्याहरू बिर्सिएर हामीले अघिल्लो दिनको थकानमा रमाउँदै नयाँ नयाँ अनुभव बटुल्दै हिँड्यौँ । त्यहाँका स्थानीयसँग गफ गर्दै, बाटोमा हिँड्ने अन्य स्वदेशी तथा विदेशी साथीहरू बनाउँदै, नेपालको बारेमा विदेशी पर्यटकहरूको प्रतिक्रिया लिँदै हामी हाम्रो यात्रामा रमाउँदै उक्लियौँ । उकाली, ओराली, जङ्गल, भिर पाखामा झुल्दै हामी पुरानो लाङटाङ गाउँ पुग्यौँ । जसको कुनै अवशेष बाँकी रहेको थिएन । सन् २०१५ मा गएको भूकम्पमा परि एउटा सिङ्गै गाउँ नै सखाप भएको स्थानमा पुग्यौँ । जहाँ पुग्दा सबैको मन भारी भएको अनुभूति मलाई भयो र एक छिन अडिएर १ मिनेट दिवानगत आत्माहरूको सम्झनामा मौन धारण गर्‍यौँ । 

उक्त पहिरो हरेर केही बेर त्यही समय बिताइयो । निकै डरलाग्दो स्थानमा बस्ती रहेको निष्कर्ष निकाल्दै हामी नयाँ लाङटाङतर्फ अघि बढ्यौ । नयाँ लाङटाङ भ्यालीमा गएर हामीले त्यस दिनको बिहानको खाना खायौँ । प्रति व्यक्ति ५०० रुपैयाँको दरले यस पदयात्रा भरी कै सबै भन्दा मिठो खाना हामीले त्यहाँ खायौँ । केही बेरको विश्रामपश्चात् हामीले फेरी हाम्रो यात्रा सुरु गर्‍यौँ । 

लाङटाङ भ्यालीको वर्णन कुनै शब्दले गर्न सक्दैन, हिमालको आधार शिविरकै बाटो लुखुर लुखुर हिनेको जस्तो अनुभूति गर्दै हामी बढ्यौ, क्यान्जिङ गोम्पातर्फ । लाङटाङ भ्यालीबाट उकालो लागेपछि ३००० मिटर माथि फल्ने डल्ले चुकको जुस खाँदै, हाँस्दै, मुख बिगार्दै, थकित अनुहार लिएर हामी ३४०० मिटरबाट फेरी उक्लन सुरु गरेका थियौँ । 

करिब २ घण्टा हिँडेपछि अचानक मौसम बिग्रन थाल्यो । जाडो एक्कासि बढ्न थाल्यो, चिसो सिरेटोले अनुसारमा बेसमारी हि¥कमाउन थाल्यो । बाटोमा अन्य ठाउँमा बस्न सक्ने अवस्था थिएन । हामीलाई अझै २ घण्टा हिँड्नै पर्ने थियो । सायद हाम्रा केही साथीहरू हाम्रो निर्धारित होटेलमा समेत पुगिसकेका थिए । गह्रुङ्गो खुट्टा उचाल्दै हामी हाम्रो हिँडाई लाई भने निरन्तरता दिई नै रहेका थियौँ । उक्त मौसम बिग्रेको करिब आधि घण्टापछि मैले मेरो अनुहारमा केही खस्रिहेको महसुस गरे र एक छिनमा थाहा पाए त्यो मेरो जिन्दगीको पहिलो स्नो फल थियो । मैले प्रत्यक्ष रूपमा हिउँ परिरहेको कहिल्यै देखेको थिइन । यस पटक भने लाङटाङ भ्यालीमा पहिलो पटक हामी सबैले परिरहेको हिउँ महसुस गर्न पायौँ । मौसमलाई बिर्सिएर म एकै छिन त्यही हिउँमा हराइरहेको थिए । अलि अगाडिबाट साथीले रिसाउँदै भनिन्, बाच्ने इच्छा छैन र ? । अनि हामी हतार हतार गर्दै हामी पुग्छौ हाम्रो गन्तव्य क्यान्जिन गोम्पा जुन करिब ३९०० मिटरको उचाइमा रहेको छ । र लाङटाङ भ्यालीको यो नै अन्तिम गाउँ हो । 

मौसम निरन्तर बिग्रिरहेको कारण भोली आकाश नखुल्ने हो कि भन्ने चिन्ताले सताइरहेको थियो । तर क्यान्जिन गोम्पाको त्यो रात जे भयो त्यसले सबै चिन्ता र पिडाहरू एकसाथमा लगेर गयो । रातको १२ बजे एक साथीले बाहिर आउन आग्रह ग¥यो, मन नलाई नलाई हामी चिसोमा बाहिर गयाँै, मौसम पुरै खुलेको थियो, पूर्णिमाको रातमा चन्द्रमा प्रस्ट देखिएको थियो भने म उभिएको चार दिशामा सेतो हिमाल टलक्क टल्किरहेका थिए । यो यस्तो दृश्य थियो जुन आजसम्म कुनै हाई रिसुलेट फोटोमा समेत देखेको थिइन । हामी साथीहरू रातको त्यो दृश्यमा खुब रमायौँ र केही समय त्यही बितायौँ । मौसम पुरै खुलिसकेको थियो तर पनि भोलि बिहानै ४ बजे उठेर सुर्यदयको आनन्द लिँदै ४७७० मिटरमा रहेको क्यान्जिन रि उक्लने योजना थियो । 

उच्च स्थान भएर होला धेरै साथीहरूलाई राति राम्रोसँग निन्द्रा पर्न सकिरहेको थिएन । सबै जना यता उता गर्दै छटपटाइरहेका देखिन्थ्ए । र त्यस्तैमा बिहान ४ बजेको अर्लाम मोबाइलमा बज्यो । तर उठ्ने जाँगर कसैलाई थिएन । त्यही पनि साथीहरूका जोर जबरजस्तीका कारण हामी ५ बजे हाम्रो होटेलबाट हिँड्यौँ । करिब १००० मिटर उक्लिएर दृश्य हेर्ने भनिए पनि उच्च स्थानमा केही साथीहरूलाई लेक लागेको जस्तो भयो । सबै जना क्यान्जिन रि चढ्न नसक्ने भए, त्यही पनि टोलीहरू अगाडि बढिरहेकै थिए । अगाडि बढ्ने टोलीहरुमध्य ४ जना मात्र उच्च पीकसम्म चढे भने बाँकी पहिलो पिकमा गएर मनोरम दृश्यको आनन्द लुट्न थाले । 

४७७० मिटरको उचाइमा पुग्दा जिन्दगीमा केही नौलो कुरा हासिल गरेको अनभुति गर्दै त्यस समय पूर्ण रूपमा त्यहाँ समर्पित हुँदै हिउँको होली समेत खेलियो । त्यस स्थानमा हामीले एक विदेशी साथी समेत बनायौँ । होली पनि खेल्यौँ र खुब रमाइलो गर्‍यौँ । 

तर, जति त्यस स्थानमा बस्न मन भए पनि फर्किनु त पर्‍यो र बिस्तारै हामीले हाम्रो पाइला झर्नतर्फ अगाडि बढायौँ । 

उक्त स्थानबाट तल झर्दै गर्दा हाम्रा साथीहरू होली खेल्नका लागि हामीलाई कुरेर बसिरहेका रहेछन् । सबै साथीहरू एक स्थानमा जम्मा भएर नौलो ठाउँमा होली खेल्यौँ । त्यहाँका स्थानीय, विदेशी तथा स्वदेशी पर्यटकहरूसँग निकै रमाइलो गर्दा गर्दै समयको पत्तै पाएनौ । त्यस दिन करिब मोटरसाइकल पार्किङसम्म पुग्ने हाम्रो योजना थियो । तर नयाँ ठाउँको नयाँअनुभवले हामीलाई छोडेकै थिएन । 

नयाँ ठाउँको यादहरू बटुलेर हामी दिउँसोको दुई बजे मात्र क्यान्जिङ गोम्पाबाट झर्न थाल्यौँ । बाटो निकै लामो थियो । पुग्नु पर्ने टाढा, केही साथीहरू त्यही बस्ने जिद्दी गर्दै थिए तर समयको पाबन्दीले हामी हिँड्नै पर्ने थियो । करिब ६ बजे हामी अघिल्लो रात सुतेको स्थान घोडा तबेलामा पुग्यौ । धेरै साथीहरू त्यही बस्ने जिकिर गर्दै थिए तर अन्यको जोर जबरजस्तीका कारण अझै ९ बजेसम्म हिडैँ भनेर हामी निकल्यिौँ । र अबको हिँडाई अँध्यारोमा सुरु भयो । हिँडेको १ घण्टा नबित्दै ठुलो पनिले हामीलाई सतायो । अझै हाम्रो गन्तव्य दुई घण्टा भन्दा धेरैको दुरीमा रहेको थियो । अँध्यारो रात, जङ्गलको बाटो र झरिरहेको झरी, माथि नै बसु भनेका साथीहरू रिसले चुर चुर भइसकेका थिए । तर अब अर्को कुनै विकल्प हामीसँग थिएन । जङ्गलमा सुत्ने कुरा त कसैले सोच्न पनि सक्ने अवस्था थिएन । 

पानी हल्का कम भएजस्तो लागेपछि हामी ८ बजे फेरी हिँड्न थाल्यौँ, अँध्यारो र चिप्लो बाटोको कारण हिँडाई झनै कष्टकर बन्दै गइरहेको थियो । जसो तसो हामी रातिको १० बजे लामा होटेल भन्ने स्थानमा पुग्छौँ र त्यहाँ पुगेपछि थाहा हुन्छ, उक्त गाउँ भरी कुनै होटेल नै खाली छैन । अर्को गन्तव्य पुग्न अर्को ३ घण्टा लाग्थ्यो । एक होटेल साहुनीले हाम्रो हालत देखेर दया मान्दै उक्त होटेलको हलमा सुत्न अनुमति दिइन् । साथीहरू जो जहाँ उट्छन, त्यही लम्पसार पर्न लागी हाले । 

बाहिरको झरी र भित्रको तातो हिटरको रापमा शरीरले चाहिने जति आराम भने पाइरहेको थियो । सबैलाई सुत्ने ठाउँ थिएन, सबैले कतै न कतै आफूलाई सहज हुने गरी आराम गरिरहेका थिए । सबैलाई सुताएर मैले आफूलाई ठाउँ खोज्दा कतै पाइन र होटेल स्टाफहरू सुतिरहेको ठाउँमै घुस्रन्न पुगे । त्यो रात निकै मिठो निन्द्रा लाग्यो । 

होटेलको स्टाफहरूसँग सुतेर होला सबेरै ४ बजे उनीहरूसँगै मलाई पनि उठाए । आँखा मिच्दै हलमा पुग्दा एक स्थान धन्न खाली भइसकेको रहेछ । हाम्रै टोलीका दुई साथी काम विशेषले चाँडै काठमाडौँ जाने भन्दै उठेका रहेछन् । उसलाई आँखा मिच्दामिच्दै शुभ यात्रा भन्दै म उसको ठाउँमा कति खेर पुगेर निदाए मलाई पनि पत्तो छैन । 

बिहान उठ्दा मौसम सफा भइसकेको थियो । झरी पुरै रोकिएको थियो । रोटी तरकारी खाएर हामीले त्यस दिन ८ बजेबाट घर फर्किने गरी हाम्रो अन्तिम दिनको यात्रा सुरु ग¥यौँ । 

त्यस दिन मौसम सफा देखिए पनि हाम्रा साथीहरूको अनुहार सबैका थकित देखिन्थे । हिँड्ने जाँगर खासै कसैलाई थिएन । 

तर पनि चाडै पुगे चाइना घुम्न जाउँला भन्ने गफ गर्दै पाइलाहरू सबैले छिटै नै चल्न खोजिरहेका थिए । बिहान नास्ता खाएर हिँडेका हामीले स्यार्फूबेशी पुगेरै मासु भात दबाउने योजनाका साथ अधि बढेका थियौँ र अन्तिम दिन पुरै पदयात्राको समीक्षा गर्दै हामी १ बजे लाङटाङ हाइड्रो बनिरहेको मोटर बल बाटो पुग्यौँ । 

यसै त लखतरान परेको ज्यान मोटर बल बाटो देखेपछि कहाँ हिँड्न मन लग्थ्यो र ? आउँदाको समयजस्तै कुनै गाडी पाइन्छ कि भन्ने आस लिएर हामी अत्यन्तै बिस्तारै पाइला मन नलगाई नलगाई अगाडि बढाउँदै थियौँ । कोही साथीहरू धेरै अगाडि थिए । तर त्यस बखत अल्छीपनाले हामीलाई ठुलो फाइदा पुर्‍यायो । बाटोमा आउँदै गरेको टिप्पर फेला पार्‍यौँ र मैले मेरो पदयात्राको मेरो साथी मेरो लौरो त्यही बिसाए । हतार हतार याद स्वरूप एक तस्बिर लिएर मैले त्यो लौरोलाई अर्को पदयात्रीको सहयात्री बन्नु भन्दै उसलाई त्यही छोडेर टिप्परमा उक्लिए ।  गाडीका गुरुजी निकै रमाइला मान्छे रहेछन् हामी दसैँ जनालाई स्याफूर्बेशीसम्म टिप्परमा पुर्‍याँइदीए । र हामी १० मिनेट पश्चात् हाम्रो मोटरसाइकल पार्किङमा पुगेर हाम्रो पदयात्राको अन्त्य ग¥यौँ । चाइना पुग्ने इच्छा त पुरा भएन तैपनि नाकासम्म पुगेर एक दुई तस्बिर खिचेर हामी सबै तिता मिठा याद र अनुभवहरूको सँगाले लिएर सकुशल घर फर्कियौँ । 

 

तपाईँहरूलाई याे कथा कस्तो लाग्यो पढेपछि आफ्नो प्रतिक्रिया अवश्य दिनु होला ………. यो कथा  १२ जनाको टोलीबाहेक अन्यको जीवनसँग मेल खान गए एक संयोग मात्र हुनेछ ।
 

खबरपाटी
खबरपाटी