यूरोपदेखि अमेरिकासम्मै चरम खडेरी, नदीमा पानी सुकेपछि ढुवानी समस्या

बेलायतमा थेम्स नदीको पानी प्रयोगमा अस्थायी रुपमा प्रतिबन्ध लगाइएको छ ।

यूरोपदेखि अमेरिकासम्मै चरम खडेरी, नदीमा पानी सुकेपछि ढुवानी समस्या

काठमाडौं । बेलायतमा थेम्स नदीको पानी प्रयोगमा अस्थायी रुपमा प्रतिबन्ध लगाइएको छ ।

अभूतपूर्व मौसमी अवस्थालाई उद्धृत गर्दै आगामी हप्तादेखि शुरु हुने गरी लन्डन र थेम्स उपत्यकामा सर्वसाधारणहरुलाई नदीको पानी प्रयोगमा रोक लगाइएको छ । उद्योग कलकारखानाहरुलाई पनि सचेत भएर पानी चलाउन भनिएको छ । 

अगष्ट २४ देखि कार सफा गर्न, बगैंचाँमा पानी हाल्न, स्वीमिङ पूल भर्न र घरका झ्याल ढोकाहरु सफा गर्ने लगायत काममा नदीको पानी चलाउन पाइने छैन । उखर्माउलो गर्मी अनि तातो हावाको बहावको कारण बेलायतमा पानीको माग २५ वर्षयताकै उत्कर्षमा पुगेको छ । नदीहरुमा पानीको स्तर पनि सुक्दै गएका छन् । 

यस्तोमा बेलायत र वेल्समा पानीको सीमित प्रयोगसम्बन्धी घोषणाहरु आइरहेका छन् । बेलायतमा यस वर्षको जुलाई महीना सन् १८८५ यताकै सुख्खामय भयो । गएको महीना तापक्रम पनि इतिहासमै पहिलो पटक ४० डिग्री सेल्सियस माथि उक्लिएको थियो । देशका कयौं स्थानमा खडेरी घोषणा गरिएको छ । 

बेलायतमा मात्रै होइन । अहिले आधा यूरोप खडेरी चपेटामा आएको छ । पानीको चरम अभाव देखिएको छ, कृषि क्षेत्र ध्वस्त भएका छन्, पानीको प्रयोगमा विविध खाले प्रतिबन्ध लगाउन थालिएको छ । जंगलमा आगलागीको समस्या चरम बनेको छ भने जनजीवन प्रभावित हुन थालेका छन् । झन्डै दुई महीनासम्म पश्चिमी, मध्य र दक्षिणी यूरोपमा खासै  वर्षा भएन ।

बेलायतमा अघिल्लो हप्ता सरकारले दक्षिण र मध्य भेगमा सुख्खाको घोषणा गर्नु पर्यो । चर्को गर्मीका कारण नदीका पानी बाफ बनेर गइरहेका छन् । पानी नपाएका बोट विरुवा हरुले आद्रर्ता शोषिरहेका छन् भने हिउँदमा हिमपात न्युन रहँदा गर्मीयाममा सिँचाईका लागि ताजा पानीको स्रोत पनि सीमित छ । बेल्जियम, नेदरल्यान्ड, जर्मनी, फ्रान्स, इटली लगायत कयौं यूरोपेली देशका नदीमा पानीको स्तर उल्लेख्य स्तरमा घटेपछि जल यातायात र ढुवानी दुबै प्रभावित हुन थालेका छन् । 

जर्मनीमा राइन नदी त्यहाँको सबैभन्दा ठूलो जल मार्ग पनि हो । आगामी दिनमा सो नदीमा पानी गम्भीर रुपमा न्यून स्तरमा झर्न सक्ने चेतावनी आइरहेको छ । फ्रान्समा सेन, रोन र ल्वार नदी, इटलीको पो नदी, बेल्जियमको एस्कोट र मास, नेदरल्यान्डमा मुसललगायत यूरोपका प्रमुख नदीमा पानीको पानीको स्तर घटेर ठाउँ ठाउँमा पिँधमै पुगेको छ । 

केही स्थानमा नदी हिडेर पार गर्न सकिने भएका छन् । केही स्थानमा ठूला जहाज चलाउन अप्ठेरो भएर साना खालका जहाज मात्रै सञ्चालनमा ल्याउनु पर्ने अवस्था छ । सर्बियामा दानुबे नदीमा जहाजहरु चलाउन सकियोस् भनेर अधिकारीहरुले नदी खनेर बालुवा निकालिरहेका छन् । 

इटलीको सबैभन्दा लामो नदी पोमा दशकौं अघि डुबेका डुंगाहरु देखिन थालेका छन् । लामो समय देखि वर्षा नभएका स्पेन र पोर्चुगलमा पनि अहिले ठूला समस्या देखिन थालेका छन् । ताल तलाउ र नदी सुक्न थालेपछि केही यूरोपेली देशमा किसानहरुले वस्तुभाउलाई खुवाउन धाराको पानी चलाउन थालेका छन् । 

जल ढुवानीमा उत्पन्न समस्याले जर्मनीमा कोइला र पेट्रोलियम पदार्थको ढुवानी समेत कठिन बनेको छ । कृषि क्षेत्र पनि प्रभावित हुन थालेको छ । यूरोपमा ५ सय वर्षयता कहिले नदेखिएको खडेरी देखिन सक्ने चेतावनी विज्ञहरुले दिएका छन् । 

यूरोपमा मात्रै अहिले पूर्वी अफ्रिका र पश्चिम अमेरिकाम र उत्तरी मेक्सिकोमा पनि अवस्था खराब बन्दै गएको छ । कोलोराडो नदीमा पानीको स्तर सुक्दै गएपछि राष्ट्रपति जो बाइडेनको नेतृत्वको प्रशासनले अरिजोना र नेभदामा अभूतपूर्व स्तरमा पानीको प्रयोग कटौती गर्न आदेश दिएको छ ।

कृषि क्षेत्र देखि जलविद्युत् सम्मका क्षेत्रमा जल आपूर्ती कसरी कटौती गर्ने भन्ने विषयले कोलोराडो नदी बहने पश्चिमी राज्यको टाउको दुखाई बनेको छ । लामो समयदेखि व्याप्त खडेरीका कारण बाँध सुक्दै गएका छन् । सिँचाई नहुँदा खेतबारीमा बालीनाली सुकेका छन् । केही बाँधमा पानीको स्तर जल विद्युत् उत्पादन गर्न सकिने स्तरभन्दा तल झरेका छन् ।

यूरोपको चरम खडेरीले खाद्यान्न र  इन्धन संकट चर्काइरहेको छ । रुसले यृुक्रेनमाथि आक्रमण गरेयता यूरोप यस अघि नै खाद्य र इन्धन संकटसँग जुधिरहेको थियो । तर खडेरीका कारण यो झनै भयानक हुने देखिएको छ । 

खबरपाटी
खबरपाटी