
चालु आवको पहिलो दुई महिना अर्थात भदौ मसान्तसम्ममा सरकारको कुल प्राप्ति एक खर्ब ६३ अर्ब दुई करोड रुपैयाँ रहेको छ ।
यस अवधिमा सरकारले एक खर्ब ४३ अर्ब ८१ करोड राजस्व तथा ७९ करोड ३० लाख वैदेशिक अनुदान मार्फत प्राप्ति गरेको हो । यसबाहेक अन्य प्राप्ति शीर्षकमा सरकारले १८ अर्ब ४२ करोड प्राप्त गरेको छ ।
सरकारले एक खर्ब ३० अर्ब ७० करोड कर राजस्व तथा १३ अर्ब १० करोड गैरकर राजस्व हो । २ महिनाको अवधिमा वार्षिक लक्ष्यको १०.२५ प्रतिशत राजश्व संकलन भएको छ भने वैदेशिक अनुदान वार्षिक लक्ष्यको १.४३ प्रतिशत प्राप्त भएको महालेखाले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा राजस्व सङ्कलनमा कमी आएको छ । आव २०७८/७९ को साउन र भदौ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा २० अर्ब ८५ करोड रुपियाँले राजस्व सङ्कलन घटेको हो ।
एक खर्ब ३४ अर्ब खर्च
सरकारले आव २०७९/८० को पहिलो दुई महिनामा एक खर्ब ३४ अर्ब ३३ करोड खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौसम्म सरकारले कुल बजेटको ७.४९ प्रतिशत खर्च गरेको हो ।
सरकारले भदौसम्म चालूतर्फ एक खर्ब ८ अर्ब ७३ करोड खर्च गरेको छ । यो कुल चालू खर्च लक्ष्यको ९.१९ प्रतिशत हो ।
सरकारले दुई महिनामा जम्मा १.५४ प्रतिशत अर्थात पाँच अर्ब ८६ करोड रुपैयाँ मात्र पूँजीगत खर्च गरेको छ । चालु आवका लागि सरकारले पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ ।
त्यस्तै वित्तीय व्यवस्थातर्फ १९ अर्ब ७४ करोड रुपियाँ खर्च भएको छ । यो खर्च कुल वित्तीय खर्च लक्ष्यको ८.५४ प्रतिशत हो । चालु आर्थिक वर्ष वित्तीय व्यवस्थाका लागि सरकारले दुई खर्ब ३० अर्ब २१ करोड रुपियाँ छुट्याएको छ ।