
काठमाडौं । राजस्व अनुसन्धान विभागले गत आर्थिक वर्षमा ३४७ प्रतिवादी विरुद्ध मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावट र विदेशी विनियम अपचलन गरेको पाइएका व्यक्ति तथा संस्थाहरू विरुद्ध सो संख्यामा मुद्दा दायर गर्दै १० अर्ब ५५ करोड रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।
राजस्व अनुसन्धान विभाग तथा विभाग अन्तर्गतका कार्यालयहरूले गरेको अनुसन्धानबाट गैरकानुनी काम गरेको पाइएपछि विभिन्न व्यक्ति तथा फर्म विरुद्ध मुद्दा दायर गरिएको विभागका प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार राजस्व चुहावट गर्ने २४८ तथा विदेशी विनिमय अपचलन गर्ने ९९ व्यक्ति तथा फर्म विरुद्ध मुद्दा दायर गरिएको छ ।
विभागका अनुसार विभागले ५१ वटा मुद्दा दर्ता गरेको छ । यस्तै, इटहरी कार्यालयले ३ वटा, पथलैया कार्यालयले ४ वटा, बुटवल कार्यालयले ८ वटा र कोहलपुर कार्यालयले ४ वटा गरी ७० वटा मुद्दा दायर गरिएको छ । यी मुद्दामा २४८ जना प्रतिवादी छन् । विभागले दर्ता गरेको ५१ वटा मुद्दामा १९० प्रतिवादीसँग ८ अर्ब ६५ करोड रुपैयाँ बिगो दाबी गरिएको छ ।
यस्तै, इटहरी कार्यालयले दर्ता गरेको ३ वटा मुद्दामा ११ प्रतिवादीसँग १६करोड ८१ लाख, पथलैया कार्यालयले दर्ता गराएको ४ वटा मुद्दामा १२ प्रतिवादीसँग ३ करोड ६८ लाख, बुटवल कार्यालयले दर्ता गराएको ८ वटा मुद्दामा २५ प्रतिवादीसँग ४७ करोड ५९ लाख र कोहलपुर कार्यालयले दर्ता गराएको ४ वटा मुद्दामा १० जना प्रतिवादीसँग १ करोड ८९ लाख रुपैयाँ बिगो तथा जरिवाना दाबी गरिएको छ ।
आर्थिक वर्ष २०७७÷७८ मा भने राजस्व चुहावटको कसुरमा ८४ वटा मुद्दामा ३१७ प्रतिवादीसँग विभागले १९ अर्ब ९१ करोड जरिवाना तथा बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । यस्तै, विदेशी विनिमय अपचलन तथा अवैध हुन्डी कारोबारमा ५४ वटा मुद्दा दर्ता गरी ११४ जनासँग ४ अर्ब ९४ करोड रुपैयाँ बिगो दाबी गरिएको थियो ।
गत आर्थिक वर्षमा विभागमा राजस्व चुहावटका ११७७ वटा सूचना प्राप्त भएका थिए । यसमध्ये ७० वटा मुद्दा दर्ता भएका, ३७४ को विभिन्न निकायमा लेखिपठाएको, अनुसन्धानबाट तामेलीमा गएका २५७ वटा गरी ७०१ वटा फर्छौट भएका र ४७६ वटा सूचना चालु अवस्थामा रहेका विभागले जानकारी दिएको छ ।
यस्तै, विदेशी विनिमय अपचलनतर्फ १०६वटा सूचना प्राप्त भएकोमा ५८ वटाको मुद्दा दर्ता भएको, ९ वटाको मुद्दा नचलाउने निर्णय भएको र ८ वटा अनुसन्धानबाट तामेलीमा गएको गरी ७५ वटा फर्छ्योट भएको र ३२ वटा सूचना चालु अवस्थामा रहेको विभागले जानकारी दिएको छ ।
विभागले २०७६ साल साउन १ गतेदेखि सञ्चालनमा ल्याएको वेबमा आधारित मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली ९भीसीटीएस० प्रयोगकर्ताको संख्या १ लाख ७४ हजार पुगेको छ । यो संख्या गत असार मसान्तसम्मको हो । आयात निर्यात तथा होलसेल व्यापार गर्ने फर्महरु भीसीटीएसमा आबद्ध हुनुपर्ने व्यवस्था छ ।
गत असार मसान्तसम्ममा ३ करोड विल प्रविष्टि भएको, १३ लाख ८३ हजार प्रज्ञापनपत्र प्रविष्टि भएको, चलान प्रविष्टि संख्या १२ लाख ५८ हजार र कारोबार रकम प्रविष्टि १२९ खर्ब ५० अर्ब रहेको छ ।
विभागले गत आर्थिक वर्षमा भीसीटीएस अनुसार काम नगर्ने ७०४ फर्म तथा कम्पनीहरूलाई कारबाही गरेको छ । यस्तो कारबाहीबाट ४ करोड १४ लाख रुपैयाँ जरिवाना लिइएको विभागले जानकारी दियो ।