जनैपूर्णिमाको दिन किन खाइन्छ क्वाँटी ? र यसका फाइदाहरु के के छन्

नेपाली समुदायमा खेतबारीमा काम गर्ने समय, मौसम परिवर्तन हुने समय र जाडो यामको सुरुवात हुने समय आउनै लाग्दा जनैपूर्णिमा पर्व पर्छ

जनैपूर्णिमाको दिन किन खाइन्छ क्वाँटी ? र यसका फाइदाहरु के के छन्

नेपाली समाजमा विभिन्न संस्कृति मान्ने क्रममा जनै पूर्णिमाको दिन मुख्य रूपमा क्वाँटी खाने प्रचलन रहिआएको छ । यो विशेष गरी नेवार समुदायबाट आएको र हाल नेपालका अधिकांश स्थानमा सबै जनजातिले क्वाँटी र यसको झोल खाने प्रचलन छ । नेवारी भाषामा क्वाँ भनेको तातो र टी भनेको सुप हो । त्यसैले, क्वाँटी भनेको विभिन्न गेडागुडीको मिश्रणबाट पकाएर बनाएको तातो सुप बुझिन्छ ।

क्वाँटीमा खास गरी नौ किसिमका गेडागुडीको सम्मिश्रण पाइन्छ । नेपाली समुदायमा खेतबारीमा काम गर्ने समय, मौसम परिवर्तन हुने समय र जाडो यामको सुरुवात हुने समय आउनै लाग्दा जनैपूर्णिमा पर्व पर्छ । र, त्यतिबेला विभिन्न गेडागुडीको रस खाने प्रचलनका पछाडि विभिन्न सत्य र वैज्ञानिक कारण लुकेका छन् । जनैपूर्णिमाको दिन टुसा उम्रिएको गेडागुडीबाट बनाइएको क्वाँटी खाने चलन छ । क्वाँटी यस पर्वको खास खानेकुरा हो ।

धेरै प्रकारका गेडागुडीलाई मिसाई त्यसलाई भिजाएर राखिन्छ र टुसा उम्रपछि त्यसलाई क्वाँटी बनाइन्छ । क्वाँटी पोषणको हिसाबले पनि फाइदाजनक हुने पोषणविद्हरू बताउँछन् ।

जनैपूर्णिमामा टुसा उमारिएको क्वाँटी खाने जुन चलन छ, त्यो एकदमै राम्रो चलन हो । शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न विभिन्न पोषक तत्त्वको आवश्यक पर्छ । त्यस्ता पोषक तत्त्व खानेकुराको माध्यमबाट प्राप्त हुने हो । त्यसैले हाम्रो शरीरका लागि सन्तुलित आहारको आवश्यकता पर्छ । सन्तुलित आहारमा अंकुरित गेडागुडी पनि एक हो । त्यसैले  शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खानुपर्छ ।

गेडागुडीको तरकारी धेरै खान सकिंदैन किनकि यो थोरै खाँदा पनि पेट टन्न हुन्छ । एक प्लेट वा एक कचौरा भन्दा बढी गेडागुडी खान सकिंदैन । तर मःम खायो भने २ देखि ३ प्लेट पनि खान सकिन्छ । जंकफुड धेरै खान सकिन्छ भने प्राकृतिक खाना धेरै खान सकिंदैन । त्यसैले प्राकृतिक खाना खानु स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो हुन्छ ।

चिया गिलासको एक गिलास भिजाएको गेडागुडी खानु उपयुक्त हुन्छ । त्यसरी चिया गिलासमा नाप्न सम्भव छैन भने ठिक्कको कचौराको एक कचौरा खानु राम्रो हो ।

गेडागुडीलाई भिजाएर तथा टुसा उमारेर खाँदा त्यसमा भएको पोषक तत्त्व झन् धेरै बढ्छ । गेडागुडी प्रोटिनको राम्रो स्रोत हो । आइरन, क्याल्सियम, भिटामिन र मिनरल्स पनि यसमा प्रशस्त मात्रामा हुन्छ ।

अहिले क्वाँटी खानु स्वास्थ्यको लागि झन् धेरै महत्त्वपूर्ण छ । यसमा भएको फाइबरले गर्दा पनि यो खानैपर्छ । हामीले दैनिक खाने खानामा आइरन, क्याल्सियम र प्रोटिनको केही मात्रा त हुन्छ, तर फाइबर हुँदैन । त्यसैले हामीले खाने खानामा फाइबरको मात्रा एकदमै कम हुन्छ जुन गेडागुडीबाट प्राप्त गर्न सकिन्छ ।

बोक्रा नफालिएको गेडागुडीमा धेरै मात्रामा फाइबर हुन्छ । जसको सेवनले मोटोपन घट्ने, मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल कम गर्न पनि सहयोग गर्छ । यसले कब्जियत र पायल्स जस्ता समस्या कम गर्न पनि यो लाभदायक हुन्छ । पाचन प्रक्रियालाई एकदमै राम्रो बनाउँछ । त्यसैले क्वाँटी खानु स्वास्थ्यको दृष्टिकोणले एकदमै राम्रो हुन्छ ।

टुसा उम्रिएको गेडागुडीको सेवन दैनिक रूपमा गर्नु एकदमै राम्रो हो । त्यसैले कुनै पनि स्वास्थ्यवद्र्धक खानेकुरा वर्षमा एक दिन मात्र खाने बानी हटाएर समय(समयमा खाइरहनुपर्छ ।

गेडागुडी पचाउन नसक्ने वर्गमा बच्चा र प्रौढावस्थाका व्यक्तिहरू पर्दछन् । कुनै कुनै वयस्कहरूले पनि पचाउन सक्दैनन् । यस्तो अवस्थामा आफ्नो शरीर र पेटको अवस्था हेरेर बिरामी नपर्ने गरी मात्रा मिलाएर खाने बानी बसाल्नुपर्छ । यदि नियमित रूपमा यस्ता खाना खानाले सामान्य समस्या हुने व्यक्तिलाई पनि बिस्तारै निको हुन थाल्छ वा पचाउन थाल्छ । 

खबरपाटी
खबरपाटी