५० जिल्लामा बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप

बालबालिकालाई सरकारले फाइजर खोपको व्यवस्था गरेको छ

५० जिल्लामा बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप

काठमाडौं । पाँच वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई आइतबारदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ । यसका लागि सरकारले फाइजर खोपको व्यवस्था गरेको छ ।

पाँच वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई लगाउने खोप अभियान अन्तरगत दोस्रो चरणमा कोभिड विरुद्धको फाइजर खोप ५० जिल्लाका बालबालिकालाई लागिएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अभियान भदौ ११ गतेसम्म चल्नेछ ।  यस्तै २७ भदौ देखि १ असोजसम्म दोस्रो मात्रा खोप सञ्चालन हुनेछ । यसअघि २७ जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई खोप लगाइसकिएको छ । 

प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुरमा आइतबारदेखि खोप सञ्चालन हुने छ । यस्तै मधेश प्रदेशका बारा रौतहट, सर्लाही गरी तीन जिल्ला र बाग्मती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा सिन्धुपाल्चोक गरी ६ जिल्लामा खोप अभियान सञ्चालन हुने छ । गण्डकी प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँमा खोप अभियान सञ्चालन हुने छ ।

लुम्बिनी प्रदेशमा कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, पूर्वी रुकुम छन् भने कर्णाली प्रदेशमा पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोटमा खोप लगाइने छ भने सुदूरपश्चिम प्रदेशमा अछाम, डोटी, बाजुरा, बैतडी र दार्चुला जिल्लामा खोप अभियान सञ्चालन हुनेछ ।

खबरपाटी
खबरपाटी