काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा देखिएका समस्या अहिलेका नभएर १२/१५ वर्ष अघिदेखिकै भएको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज सीजेएनको १४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले सहकारीमा भएका बेथितिहरू केही हदसम्म नियन्त्रण गर्न छुट्टै नियामक निकाय बनाउने काम अगाडि बढेको बताए ।
यसका लागि मन्त्रालयले तीव्ररूपमा काम गरिरहेको उनले बताए । अधिकारीले सहकारीमा आएका समस्यालाई समाधानका लागि सरकार अहिले लागिपरेको बताए । तर, सहकारी क्षेत्रमा देखिएका समस्या तत्कालै समाधान गर्न नसकिने उनको भनाइ छ । यसलाई क्रमिक सुधार गर्दै लाने सरकारको योजना रहेको उनको भनाइ छ ।
“सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन हामीले नियामक निकाय स्थापना गर्ने क्रममा छौँ । यसका लागि कानुन बन्दै छ,” उनले भने, “सहकारीका बचतकर्ता संरक्षण कोष खडा गर्ने कुरा उठेको छ, यसको बारेमा पनि हामीले प्रक्रिया अगाडि बढाएका छौँ । यसका लागि नियम कानुन बनाउन बाँकी छ ।”
मन्त्री अधिकारीले हाइजम्प गरेजसरी सहकारी क्षेत्रका समस्या समाधानमा परिणाम नआउने बताए ।
सहकारी भनेका सबै खराब हुन कि भन्ने हल्ला जनमानसमा गएको उनको भनाइ छ । तर, जनतामा भ्रम फैलने खालका क्रियाकलाप गर्न नहुने पनि उनको भनाइ छ ।
“कोही सानो बचत गर्ने, कोही ठूलो बचत गर्ने, कोही आन्दोलनका लागि मात्र पनि सहकारीमा प्रवेश गरेका छन्,” मन्त्री अधिकारीले भने ।
सरकारले गठन गरेको समितिमा सबै सहकारीको प्रतिनिधि राख्नुपर्छ भन्ने आवाज उठेको भन्दै सबैललाई समेट्न नसकिने उनको भनाइ छ । सहकारीको समस्या १२/१५ वर्षदेखि नै आएको उनको भनाइ छ ।
सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेले सहकारी क्षेत्रमा अहिले सबै मिलेर विश्वास बढाउनुपर्ने बताए । सहकारीका विषयगत संघ संस्थालाई सक्रिय बनाउनुपर्ने उनको भनाइ छ ।
“सहकारी क्षेत्रमा अहिले संवेदनशील अवस्था छ । यो अवस्थामा हामीले सहकारीकर्मी र सहकारीका सदस्यलाई विश्वास बढाउनुपर्ने छ,” उनले भने, “सहकारीमा ऐन र नियमविपरीत काम भएका भए त्यसलाई ढाकछोप गर्न हुँदैन ।”
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले पत्रकारहरूले सत्यलाई सत्य र असत्यलाई असत्य भन्न सक्नुपर्ने बताइन् ।
“एउटा व्यक्तिलाई देखाएर यो क्षेत्र नै विकृति भएको भन्न मिल्दैन,” उनले भनिन्, “सहकारीमा दुई तीन किसिमका बचतकर्ता छन् । सरकारले अहिले गरिरहेको काममा हामी एकदमै पोजेटिभ छौँ ।”
आन्दोलनमा उत्रिएका सदस्यहरूले महासंघ बोल्नुपर्यो भनेर अहिलेसम्म नआएको भन्दै यसरी समस्याको समाधान हुन नसक्ने बताइन् ।