को हुन् हमासले मुक्त गरेका बन्धकहरू ?

को हुन् हमासले मुक्त गरेका बन्धकहरू ?

काठमाडौं । प्यालेस्टाइनको अतिवादी समूह हमास र इसराइलबीच ४८ दिनपछि युद्धविराम भएको छ। शुक्रबार स्थानीय समयअनुसार बिहान ७ बजेदेखि इसराइलले गजामा युद्धविराम गरेको हो।
इसराइलले गजामा युद्धविराम गरेपछि हमासले शुक्रबार २४ बन्धकलाई मुक्त गरेको छ।

द न्युयोर्क टाइम्सका अनुसार हमासले १३ जना इसराइली नागरिक, १० जना थाई नागरिक र फिलिपिन्सका १ नागरिक गरी २४ जनालाई शुक्रबार बन्धक मुक्त गरेको हो।
हमासले बन्धकलाई मुक्त गरेपछि इसराइलले त्यहाँका जेलमा रहेका ३९ जना कैदीबन्दी रिहा गरेको छ।

रिहा हुनेमा २४ जना महिला र १५ जना किशोरकिशोरी छन्। उनीहरूमध्ये केही इसराइली सैनिकहरूमाथि आक्रमण र हत्याको प्रयास गरेको अभियोगमा र केही सामान्य ढुंगामुढा गरेको आरोपमा सजाय काटिरहेका थिए।

हमासले बन्धकमुक्त गरेकाहरूलाई रेडक्रसमार्फत् इजिप्ट लगिएको छ। त्यहाँबाट उनीहरूलाई इसराइल लगिने बताइएको छ।

आइडिएफका प्रवक्ता ड्यानियल हगारीले उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्।

‘सबैको प्रारम्भिक स्वास्थ्य जाँच गरिएको थियो। कसैको पनि जीवन जोखिममा छैन,’ हगारीलाई उद्धृत गर्दै सिएनएनले भनेको छ।

उनीहरूलाई हत्जेरिम एयरबेसमा आफ्ना देशका प्रतिनिधिहरूसँग भेट गराएपछि अस्पताल लगिने पनि प्रवक्ता हगारीले बताए।

हमासले मुक्त गरेका २४ बन्धकमध्ये १३ जना इसराइलीको परिचय खुलेको छ। सिएनएनले उनीहरूको नामावली सार्वजनिक गरेको छ।

यफा अदर

८५ वर्षीया यफा अदर इसराइली नागरिक हुन्। उनी निर ओज किब्बुत्जका  संस्थापक हुन्। हमासले बन्धक बनाएकोमध्ये उनी सबैभन्दा पाका उमेरकी हुन्। उनलाई हमासले बन्धक बनाएर लैजाँदै गरेको भिडिओ समेत सार्वजनिक भएको थियो।  उनका ३८ वर्षीय नाति तमिर अदरलाई पनि हमासले बन्धक बनाएको छ। शुक्रबार उनी मुक्त भएका छैनन्।

मार्गालिट मोसेस

७७ वर्षीया मार्गालिट मोसेस दीर्घरोगी हुन्। उनी क्यान्सर र मधुमेहको उपचार गराउँदै थिइन्। उनका तीन सन्तान र १० नातिनातिना छन्।

हाना कत्जिर

७२ वर्षीया हाना कत्जिर किब्बुत्ज निर ओजका सदस्य हुन्। अक्टोबर ७ मा हमासले उनको घरमा आक्रमण गरी उनलाई बन्दी बनाएर लगेको थियो। हमासको आक्रमणबाट उनका ७९ वर्षीय रामी कत्जिर मारिएका थिए। उनका तीन सन्तान र ६ नातिनातिना छन्। उनका ४७ वर्षीय छोरा एलाड कत्जिर पनि हमासको बन्धकमा छन्।

एडिना मोसे

७२ वर्षीया एडिना मोसे रिटायर्ड शिक्षक हुन्। उनी पनि निर ओज किब्बुत्जका बासिन्दा हुन्। उनका चार सन्तान र १२ नातिनातिना छन्। उनका श्रीमान डेविड मोसे अक्टोबर ७ को आक्रमणमा मारिएका थिए।

रूथ मुन्डर

७८ वर्षीया रूथ मुन्डर निर ओज किब्बुत्जका बासिन्दा हुन्। निर ओजमा उनी पुस्तकालयमा सञ्चालन गर्दै आएकी थिइन्। उनका श्रीमान, छोरी केरेन र नाति ओहाडलाई अक्टोबर ७ मा हमासले बन्दी बनाएर गजा लगेको थियो। छोरा रोइलाई हमासले सोही दिन हत्या गरेको थियो। उनका ७८ वर्षीय श्रीमान अब्राहम अझै हमासकै कब्जामा रहेको निर ओजका प्रवक्ताले बताएका छन्।

केरेन मुन्डर

५४ वर्षीया केरेन रुथकी छोरी हुन्। उनी स्वास्थ्य विधाकी शिक्षिक हुन्।

ओहाड मुन्डर

९ वर्षीय ओहाड रूथकी नाति र केरेनकी छोरा हुन्।

ड्यानियल एलोनी र इमिलिया एलोनी

४५ वर्षीया ड्यानियल एलोनी निर ओज किब्बुजमा आफ्ना आफन्त भेट्न आएका थिए। त्यतिबेला उनकी ५ वर्षीया छोरी इमिलियासहित बहिन स्यारोन एलोनीसहित परिवारका अन्य सदस्यहरूलाई हमासले बन्दी बनाएर गजा पुर्‍याएको थियो।

डोरोन कत्ज एसर, रेज एसर र अविभ एसर

३४ वर्षीया डोरोन उनका दुई छोरी रेज र अविभसँगै निर ओज किब्बुत्ज घुम्न आएकी थिइन्। अकाउन्टेन्टको काम गर्ने उनी  उनी गेनोट हाडरमा बस्छिन्। हमासले उनकी बहिनी इफ्रात कत्जसहित उनीहरूलाई हमासले बन्दी बनाएर गजा पुर्‍याएको थियो।

चन्ना पेरी

७९ वर्षीया चन्ना पेरी सन् १९९६० को दशकमा दक्षिण अफ्रिकाबाट इसराइलमा बसाइ सरेर आएकी थिइन्। किबुट्ज निरिममा उनी किराना पसल चलाउँदै आएकी थिइन्। उनका तीन सन्तान छन्, जसमध्ये एकको अक्टोबर ७ मा हत्या भएको थियो।

हमासले मुक्त गरेका अन्य देशका नागरिकहरूको परिचय सार्वजनिक नभइसकेको सिएनएनले उल्लेख गरेको छ।

हमासले बन्दी मुक्त गर्ने र इसराइलले गजामा चार दिन युद्धविराम गर्ने सहमतिलाई इसराइली सरकारले मंगलबार अनुमोदन गरेको थियो।

इसराइली सरकारले उक्त सहमति अनुमोदन गरेको तीन दिनपछि शुक्रबार बिहानदेखि गजामा युद्धविराम भएको हो।

सहमतिअनुसार हमासले पहिलो चरणमा ५० जना बन्दी मुक्त गर्ने र त्यसको बदलामा इसराइलका जेलमा रहेका १५० कैदीबन्दी रिहा गर्ने सर्त थियो। इसराइलका जेलमा कम्तीमा ३ हजार प्यालेस्टिनियन नागरिक रहेको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

त्यसअनुसार हमासले प्रत्येक दिन कम्तीमा १० जना बन्धकहरू रिहा गर्ने र प्रत्येक रिहाइमा इसराइलले गजामा थप एकदिन युद्धविराम लम्ब्याउने सहमति भएको थियो।

युद्धविराम भएपछि गजामा विभिन्न देशहरूले मानवीय सहायता पठाएको थियो। खाद्यान्न, इन्धन र औषधि बोकेका सयौं ट्रकहरू गजामा प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएको छ।

युद्धविराम भएपछि त्यहाँका मानिसहरूले लामो समयपछि राहतको सास लिएका छन्। उनीहरूले युद्धविरामको खुलेर स्वागत गरेका छन्।

अक्टोबर ७ को बिहानै हमास समूहले इसराइलमाथि जमिन र आकाशबाट आक्रमण गरेको थियो। हमासको आक्रमणबाट १० नेपाली विद्यार्थीसहित १ हजार २ सय जनाको मृत्यु भएको थियो।

आक्रमणका दिन हमास समूहले त्यहाँबाट इसरायली र अन्य देशका गरी २३९ जनालाई बन्दी बनाएर गजा लगेको थियो। बन्धक बनाइएकामा नेपालका विपिन जोशी पनि छन्। उनलाई हमासको बन्धकबाट मुक्त गर्नका लागि पहल भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्तासमेत रहेकी प्रवक्ता सेवा लम्सालले जानकारी दिएकी छन्।

खबरपाटी
खबरपाटी