
काठमाडौँ । तिहार र छठमा १० दिन बन्द भएको सेयर बजार अब आज अर्थात् मङ्सिर ४ गते खुल्दैछ । केही महिना यता निरन्तर खुम्ची रहेको बजारले दसैँ तिहारको बिदामा समेत निरन्तरता पाएको छ ।
लगानीकर्ताको आत्मबल कमजोर देखिएको छ । ठुला र संस्थागत लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा बसेका छन् भने साना लगानीकर्ताले मात्र यति ठुलो बजार उठाउन सकेका छैनन् ।
दसैँ तिहारकोबीचमा बजार १० खुल्दा समेत ५१.७४ अकंको गिरावट देखिएको थियो । कारोबार रकम समेत निरन्तर खुम्ची रहेको छ । कारोबार पछिल्ला दिनमा एक अर्ब पुग्न समेत सकस परी रहेको छ ।
बजारले निरन्तर ओरालो यात्रा तय गर्दा लगानीकर्ता नियामकलाई दोष दिइरहेको पाइन्छ । सेयर बजारसँग सम्बन्धित नीतिगत अवरोधहरू कायमै छन् । बाह्य अर्थतन्त्र सुधार भए पनि आन्तरिक अर्थतन्त्रमा सुधार हुन सकेको छैन । यो बेला लगानीकर्ताको मनोबल वृद्धि गर्ने समेत नियामक निकाय मुखर्दशक भएको देखिन्छ ।
अबको बाटो कस्तो ?
सेयर बजारमा प्रभाव पार्ने प्रमुख कारण भनेको नै बैङ्कहरूको ब्याजदर हो । वाणिज्य बैङ्कहरूले नयाँ ब्याजदर लागू गरेका छन् । बैङ्कहरूले मङ्सिर १ गतेदेखि सोही महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरेका हुन् । मङ्सिर महिनाका लागि अधिकांश बैङ्कहरूले ब्याजदर घटाएका छन् । धेरै बैङ्कहरूको ब्याजदर सिंगल डिजिटमा आएको छ । मङ्सिरका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.३३१ प्रतिशत र संस्थागत मुद्दती तर्फको ०.३०६६ प्रतिशतले घटाएका हुन् । कात्तिक महिनामा बैङ्कहरूको यस्तो औसत ब्याजदर व्यक्तिगत र संस्थागत निक्षेपतर्फ क्रमशः ९.९६४ प्रतिशत र ७.८५२६ प्रतिशत रहेको रहेको थियो । ब्याजदर घट्दै गएको अवस्थामा बजारले सकारात्मक बाटो तय गर्ने देखिन्छ ।
धितोपत्र बोर्ड नयाँ ब्रोकरलाई लाइसेन्स खुला गरेसँगै ब्रोकर सङ्ख्या बढेको छ । तर अहिलेसम्म नयाँ ब्रोकर सहर केन्द्रित छन् । अब उनीहरूले दूर दराजमा अलि बढी सक्रियता बढाएर नयाँ ग्राहक खोज्न थाले भने यसले क्रेता पक्ष बलियो बन्न सक्छ । पुराना ब्रोकरहरूले पनि आफ्नो नेटवर्क विस्तार गर्दै नयाँ ग्राहक बनाउन सके भने त्यसले पनि माग पक्ष बलियो बनाउन सहयोग पुग्ने देखिन्छ ।
नियामक पनि सेयर बजारलागि अवरोध भनिएको केही नीतिगत बाधा बिस्तारै हटाउँदै गएको देखिन्छ । सेयर धितो कर्जामा लागेको क्याप केही हदमा बढाउनु पनि सकारात्मक पक्ष हो । लाभांश सिजन चली रहेको छ । अधिकांश कम्पनीले लाभांश प्रस्ताव गरी रहेका छन् । यो बेला लगानीकर्ताको मनोबल वृद्धि गर्नेका लागि नियामक निकायले मुख्य भूमिका खेल्नु आवश्यक छ । नीतिगत कुरामा खुकुलो र लगानीकर्ताको मनोबल वृद्धि तथा जानकारी दिन प्रशिक्षण समेत दिनु आवश्यक छ ।
बजारलाई प्रभाव पार्ने विषय अब नयाँ स्टक एक्सचेन्ज हो । कात्तिक २४ गते अर्थ समितिको बैठकले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । अहिले यो विषयलाई लिएर लगानीकर्ता देखि जनप्रतिनिधिहरुबीच पक्ष–विपक्षमा बहस चलेको छ । सेयर लगानीकर्ताले मान्दै आएका सांसद हरि ढकालले नयाँ स्टक दिने कुरा अर्बौँ रुपैयाँ घोटाला भएको बताएका छन् । यसको प्रभाव अब सेयर बजारमा पर्ने देखिन्छ ।
तर, अधिकांश लगानीकर्ताले भने नयाँ स्टकलाई स्वागत गरेका छन् । बजारलाई प्रतिस्पर्धी बनाउन नयाँ स्टकले उत्कृष्ट भूमिका खेल्ने तर्क भइरहेको छ । नेपालमा अहिले अर्को नयाँ स्टक एक्सचेन्जको आवश्यकता छ या छैन भन्दा पनि अहिलेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले के के काम ग¥यो, लगानीकर्तामैत्री कार्यक्रम ल्याउन सक्यो कि सकेन, नयाँ प्रविधि प्रयोग गरेर वित्तीय उपकरण ल्याउन सक्यो कि सकेन भन्ने जस्ता कुरा महत्त्वपूर्ण हुन्छन् ।
एउटै मात्र स्टक एक्सचेन्ज भएकाले प्रतिस्पर्धात्मक पनि भएको देखिँदैन । यस कारण पनि अहिलेको आवश्यकता नयाँ स्टक एक्सचेन्ज नै हो । यो आएपछि नयाँ नयाँ प्रविधि तथा वित्तीय उपकरण भित्रिनेछन् । सेयर कारोबार प्रक्रिया छिटो र सहज हुनेछ । गुणस्तरीय सेवा सुविधा पाइनेछ । यस कारण पनि नयाँ स्टक एक्सचेन्ज आउनुपर्छ र प्रतिस्पर्धी भएर काम गर्नुपर्छ । यसले लगानीकर्तालाई फाइदा नै पुग्छ ।