आस्था शर्मा/काठमाडौं । मानिसका विभिन्न थरीका रहरहरु हुन्छन् । कोहि रहर पुरा गर्नकै लागि बाँचेका हुन्छन् भने कोही आफ्नो सौखको खोजीमै जिन्दगी बिताइदिन्छन् । सौख सानो,ठूलो,राम्रो नराम्रो जस्तो भएपनी मानिसहरु आफ्नो सौख पूरा गर्न साम,दाम,दण्ड भेद अपनाउन पछि हट्दैनन् । सामान्यतया मानिसका सौखहरुमा जनावर पाल्ने, पुराना पैसाहरु जम्मा गर्ने,विभिन्न ठाउँहरु घुमफिर गर्ने,आफुलाई मनपर्ने कुराहरु जसरी नि किनिछाड्ने आदि पर्दछन् । जो व्यक्ति सौखिन हुन्छ उसको जिन्दगी पनि उस्तै चाख लाग्दो हुन्छ ।
यस्तै राजधानीमा एक यस्ता व्यक्ति छन् जो पुराना भिन्टेज गाडीहरु संकलन गर्नमा सौखिन छन् । उनी हुन् प्रमोद चालिसे जो प्रमोद दादाका नामले चर्चीत छन् । प्रमोद राज चालिसे उर्फ प्रमोद दादा पेशाले एक सिभिल इन्जिनियर हुन् । उनीसँग हाल चल्तिमा ७ वटा भिन्टेज कारहरु रहेका छन् भने अचल अवस्थाका भिन्टेज कारहरु पनि कयौँ रहेका छन् । २० वटा भन्दा धेरै भिन्टेज कारहरु कलेक्ट गरिसकेका प्रमोद दादाले साथी भाइहरुसँग हारेर धेरै कारहरु उनीहरुलाई दिनु परेको बताउँछन् ।
अहिले उनीसँग बिटलस्, फल्सक्वागन थिङ, मर्सिडिज, सामुराई, सुजुकि, टोयटा हाइस टाइगर लगायतका भिन्टेज कारहरु रहेका छन् । कक्षा ५ देखि नै गाडी चलाउने रहर राखेका प्रमोद दादाले कक्षा ७ मा पढ्ने बेला आफ्नो काकाकोे ट्योटा गाडी घरको कमपाउन्डमा पहिलो पटक राउन्ड हनेका थिए । त्यसै बखत उनलाई कमाई भनेको कार चढ्न कै लागि गर्नुपर्छ भन्ने लाग्यो । त्यसपछि उनी गाडिप्रती सौखिन बने । र गाडीमा पनि बिस्तारै उनलाई भिन्टेज गाडि प्रति सौख बढ्दै गयो ।
सन् २००४ मा उनले आफ्नै कमाईबाट १९८४ मोडलको त्रिपल सिलिन्डर डायहस्टु चारेट गाडि खरिद गरेका थिए । हालसम्म उनले २० भन्दा धैरै भिन्टेज गाडिहरु संकलन गरिसकेका छन् । उनी गाडिलाई कुनै विजनेशको रुपमा होइन आफ्नो प्रेमको रुपमा हेर्दछन् । बाटोमा कुनै भिन्टेज गाडि देख्दा मन प्रसन्न हुने उनी बताउँछन् । भिन्टेज गाडिहरु देख्यो कि किनिहाल्न मन लागे पनि कानुनी एवं सामाजिक तवरले सबै भिन्टेज गाडिहरु किन्न सम्भव नहुने विडम्वना रहेको उनको भनाइ छ ।
आफ्नो भिन्टेज गाडिहरु राम्रो मोल दिएर किन्न आउनेहरुको पनि कमी नरहेको उनी बताउँछन् । तर उनी आफ्नो कुनै पनि गाडिहरु विक्रि गर्न चाँहदैनन् । बरु भविष्यमा सरकारले मागेको अवस्थामा संग्राहलयमै राखेर सजाउन दिन सक्ने उनी बताउँछन् ।
अहिले सिहंदरबारको कुनामा कुहिएर बसेका पुराना सरकारी गाडिहरुलाई विद्युतीयमा रुपान्तरण गरेर चलाउनुपर्ने उनको तर्क छ । सरकारी कार्यलयहरुमा गाडिहरु कुहाइएर राख्नु अत्यन्तै पिडादायक रहेको उनी बताउँछन् । भिन्टेज गाडिहरुको कागजपत्रहरु सबै भएपनि वार्षिक कर भने अत्यन्तै महङ्गो रहेको छ । भारत जस्तै भिन्टेज गाडिहरुको लागि सिमित मापदण्ड बनाएर सरकारले चलाउन अनुमानि दिनुपर्ने उनको माग छ ।
एनसेल र युटिएलमा इन्जिनियर रहिसकेका प्रमोद दादा अहिलेका सफल व्यापारी समेत हुन् । हाल उनको अल टेक नामक कम्पनी रहेको छ । कुनै समयमा १८ घण्टासम्म निरन्तर काम गरेका प्रमोद दादा, सर्वप्रथम परिश्रम र त्यसपछि मात्र सौखु भन्ने मान्यता राख्दछन् ।